रुपन्देहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

आश्विन ७, २०८१ | तिलोत्तमा

रुपन्देहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भैरहवास्थित प्रादेशिक कार्यालयले दशैं, तिहार र छठ पर्वलाईको उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

कम्पनीको प्रादेशिक कार्यालयकी प्रमुख चुनु बुढाथोकीले लक्षित वर्गसम्म यो सेवा पुर्‍याउने गरी अघि बढ्ने बताउनुभयो । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हाल कारागारमा मात्र चामल गएको छ’, उहाँले भन्नुभयो, ‘अन्य कार्यालयमा पनि यहाँको गुणस्तरीय चामल जाने गरी पहल हुनुपर्छ ।’

बुढाथोकीले सहकारी मार्फत विभिन्न पालिका तथा आवश्यक स्थानमा सुपथ मूल्य पसल खोल्ने योजना रहेको र यसमा पालिकाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै कार्यालयका वरिष्ठ सहायक कर्मचारी कमान सिंह रानाले महान चाडपर्वको अवसरमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा भैरहवामा सञ्चालन गरिएको बताउनुभयो । 

उहाँका अनुसार सुपथ मूल्य पसलमा सावां चामल प्रतिकेजी ७० रुपैयाँ, मोटा चामल प्रतिकेजी ५८, स्टीम जीरा प्रतिकेजी ८५ रुपैयाँ र सोना मन्सुली प्रतिकेजी ६० रुपैयाँ मा उपलब्ध हुनेछ । हाल कार्यालयमा ४ हजार क्वीन्टल चामल स्टक रहेको छ ।


प्रतिक्रिया