गत साताको बाढी पहिरोबाट ऊर्जातर्फ ४ अर्ब र सिँचाईतर्फ १ अर्ब बढीको क्षति

रेडियो कान्तिपुर संवाददाता

आश्विन १८, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी पहिरोबाट ऊर्जातर्फ ४ अर्ब र सिँचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ बढीको क्षति भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आज बोल्दै मन्त्री खड्काले मन्त्रालय अन्तर्गतका २१ वटा आयोजनाहरुमा क्षति पुगेको बताउनुभयो ।

उहाँका अनुसार ऊर्जातर्फ ४ अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सिँचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ माथि क्षति भएको अनुमान छ भने क्षति बढ्ने सक्ने उहाँको भनाई छ । मन्त्री खड्काले विपद्बाट अवरुद्ध भएको १ हजार १०० मेघावाट क्षमताका विद्युत गृहहरुको मर्मतको प्रयास भइरहेको बताउनुभयो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरुमा मर्मतसम्भार गर्न गाह्रो भएको जानकारी दिनुभयो । यद्यपि, उहाँले दशैँ अगाडी विद्युत सेवा पु¥याउने गरी काम गरिरहेको बताउनुभयो ।

कुलेखानी बाँधले निम्त्याएको क्षतिको सम्बन्धमा विवरण संकलन गरिरहेको भन्दै घिसिङले क्षतिको यकिन गरेर आवश्यक कदम चाल्न विभागिय मन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।  


प्रतिक्रिया