दशैंका लागि आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला

फाइल फोटो  

आश्विन २०, २०८१ | काठमाडौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट कम्पनीले खसी, बोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।

दशैंको नवमीसम्म एक हजार ५ सय खसी बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री सुरु गरेको जनाएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न कम्पनीले हरेक वर्ष विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरेर काठमाडौंमा बिक्री गर्दै आएको छ ।

कम्पनीले खसीबोका, हेटांैडा, दाङको तुलसीपुर, नवलपुर र च्याङ्ग्रा मुस्ताङबाट ल्याएको छ । कम्पनीले खसी, बोकाको मूल्य प्रतिकेजी ६ सय ६० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी १ हजार २ सय २० रुपैयाँ तोकेको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले विभिन्न जिल्लाबाट काठमाडौं भित्रिएका २ सय ८ खसीबोका र ३ सय च्याङ्ग्रा बजारमा बिक्रीका लागि राखिएको जानकारी दिनुभयो ।

यसैबीच, निजी व्यापारीले भने घटस्थापनादेखि नै काठमाडौंको कलंकी, प्रदर्शनीमार्ग लगायत विभिन्न स्थानबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरिसकेका छन् ।   


प्रतिक्रिया