काठमाडौं–भैरहवा चार्टड उडान गर्ने वायुसेवा निगमको तयारी

आश्विन २१, २०८१ | काठमाडौं

नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं चार्टड उडान गर्ने तयारी गरेको छ । चार्टर उडानका लागि निगमले नेपाल नागरिक उडड्यन प्राधिकरणमा अनुमति मागेको छ । 

काठमाडौं–भैरहवा–काठमाडौं उडानका लागि निगमलाई अनुमति दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले न्यारोबडी विमानले चार्टड उडानका लागि मागेको अनुमतिमा आज निर्णय गरिने जानकारी दिनुभयो । 

काठमाडौं भैहरवामा हालसम्म ७२ सिटको एटीआरबाहेकले यात्रु उडान गरेका छैनन् । निगमले एक दिनका लागि १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानलाई भैरहवा पठाउन लागेको हो ।

निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार पछिल्लो साताको बाढी पहिरोका कारण मुख्य राजमार्गमा भएको अवरोधपछि यात्रुको चाप हवाई यातायातामा देखिएको छ । 

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले निजी वायुसेवामा महँगो टिकट र त्यो नपाइने अत्यधिक गुनासोलाई सम्बोधन गर्न निगमको न्यारोबडीलाई भैरहवा र हिमालय एयरलायन्सलाई पोखरा उडानका लागि अनुरोध गरिएको बताए । प्राधिकरणले अनुमति जारी गरेको अवस्थामा टिकट बिक्री खुला गर्ने तयारी निगमले गरेको छ । 

यसैबीच, निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ ।


प्रतिक्रिया