दुई महिनामा ७ अर्ब ५० करोड रुपैयाँ बढीको विद्युत भारत निर्यात

आश्विन २३, २०८१ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा ७ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको विद्युत भारततर्फ निर्यात गरिएको जनाएको छ ।

यस वर्षको साउन र भदौमा देशभित्र खपत गरी बाँकी भएको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत निर्यात गर्दा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको हो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४९ करोड २८ लाख ६१ हजार युनिट विद्युत भारत तर्फ निर्यात गर्दा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ ।

सो महिनामा प्रति युनिट ८ रुपैयाँमा विक्रि गरिएको थियो । भदौ महिनामा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गर्दा ३ अर्ब ५३ करोड ५ लाख रुपैयाँको विद्युत निर्यात गरिएको हो । अघिल्लो महिनाको तुलनामा भदौ महिनामा विद्युत प्रति युनिट २ रुपैयाँ कममा विक्रि भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा प्रति युनिट ६ रुपैयाँमा विक्रि गरिएको प्राधीकरणले जानकारी दिएको छ । यसैबीच केही दिन अघि आएको बाढी पहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द भई निर्यातको लक्ष्य प्रभावित हुने प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यसवर्ष प्राधिकरणले ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको थियो ।  


प्रतिक्रिया