रसुवागढी नाका भोलिबाट सञ्चालन हुने
कार्तिक ११, २०८१ | काठमाडौं
करीब एक महिनादेखि बन्द रहेको रसुवाको रसुवागढी नाका भोलिबाट सञ्चालनमा आउने भएको छ । अविरल वर्षाका कारण बन्द रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिबाट सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
गत असोज दोस्रो साताको वर्षाले अवरुद्ध चिनियाँ भू–भागको सडक आजसम्म पुनर्निर्माण सम्पन्न गरी भोलिबाट यातायात सञ्चालनमा ल्याउने जानकारी चिनियाँ पक्षले दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
राजमार्ग सञ्चालनमा ल्याई नेपाल– चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा सहयोग मिलेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
रसुवागढी–केरुङ खण्ड अन्तर्गत ठोङ्सा नजिक चिनियाँ क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्व भएको थियो ।