गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन तीन अन्तर्राष्ट्रिय उडान
कार्तिक २४, २०८१ | भैरहवा
सञ्चालनमा आएको दुई वर्षपछि रुपन्देहीको भैरहवास्थित गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उत्सवको माहोल बनेको छ । शनिबार एकैदिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । एकैदिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि त्यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको छ ।
शनिबार बिहान कुवेतको जजिरा एयरलायन्सको विमान भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ । जजिराको विमान बिहान ८ बजेर ४० मिनेटमा जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।
दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैहरवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।
जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछन् । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।
गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार मध्याहृनबाट फ्लाई दुबईले उडान थाल्दैछ । ˆलाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातैदिन उडान गर्ने तिवारीले बताउनुभयो ।
नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । महाप्रबन्धक तिवारीका अनुसार नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरु गर्न लागेको छ ।
नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलायन्सको जहाज काठमाडौंबाट राति १० बजेर २० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ ।
गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याहृन दोस्रो पटक यहाँ अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । आउने साताबाट भने थाइ एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत तालिका अनुसार थाई एयर एसियाको विमान मध्याहृन सवा १२ बजेट यहाँ अवतरण गर्नेछ । एक घण्टा यहाँ आराम गरेपछि यात्रु लिएर थाइल्याण्ड फर्किने तालिका छ ।
नेपाल एयरलायन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वलालाम्पुर–काठमाडौं–भैरहवा उडान कायम रहेको छ । शुक्रबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिएको छ ।