नेपालमा करदाताको संख्या करीब ६३ लाख पुग्यो

मंसिर १, २०८१ | काठमाडौं

सरकारले करको दायरा विस्तार गरेसँगै करदाताको संख्या करीब ६३ लाख पुगेको छ । आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका गरी कुल करदाताको संख्या ६२ लाख ९४ हजार ८ सय २८ पुगेको छ । 

आर्थिक वर्ष २०८०/८१ मा व्यावसायिक स्थायी लेखा नम्बरतर्फ एक लाख ५१ हजार ४३ सय ३७ करदाता थिए । सो संख्या बढेर २०८१ असार मसान्तसम्ममा २० लाख २७ हजार ६ सय ६८ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ६ लाख १७ हजार ५ सय ३२ करदाता रहेकोमा सो संख्या बढेर ४२ लाख ६७ हजार १ सय ४६ पुगेको विभागको तथ्यांक छ । 

आर्थिक वर्ष २०८०/८१ मा कुल १० खर्ब ५८ अर्ब रुपैयाँ राजश्व असुली भएकोमा आन्तरिक राजश्व विभागको योगदान ५ खर्ब ३३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यो कुल राजश्व असुलीको ५० दशमलव ३३ प्रतिशत हो । गत विभागले राजश्व असुलीको ७८ दशमलव ६५ प्रतिशत लक्ष्य पाएको थियो । 

विभागका अनुसार गत आर्थिक वर्ष सबै भन्दा बढी आयकरतर्फ ४५ दशमलव ४० प्रतिशत र मूल्य अभिवृद्धि तर्फ २४ दशमलव ४० प्रतिशत राजश्व असुली भएको थियो । 

यस्तै, राजश्व असुलीमा अन्तशुल्कको योगदान १९ दशमलव २५ प्रतिशत, ब्याजकरको ६ दशमललव ९१, बहाल करको योगदान शूल्य दशमलव ५१ र स्वास्थ्य सेवा शुल्कको १ दशमलव २४ र शिक्षा सेवा शुल्कको योगदान शूल्य दशमलव ६१ प्रतिशत रहेको विभागको तथ्यांक छ । 

यस्तै, गत वर्षमा कार्यालयगत राजश्व संकलनतर्फ ठूला करदाता कार्यालयको योगदान ४० दशमलव ८४, मध्यम स्तरीय करदाता कार्यालयको ४ दशमलव ५५, आन्तरिक राजश्व कार्यालयको ५० दशमलव ८७ र करदाता सेवा कार्यालयको योगदान ३ दशमलव ७४ प्रतिशत रहेको छ ।

यसैबीच, आज विभिन्न कार्यक्रम गरी कर दिवस मनाईदैछ । राजश्व परिचालनका लागि विभागले आन्तरिक राजश्वतर्फ आयकर, मूल्यअभिवृद्धि कर र अन्त शुल्क तथा तोकिए बजोजिमका कर तथा शुल्क लिँदै आएको छ । 


प्रतिक्रिया