गौतमबुद्ध विमानस्थल चलाउन सरकार प्रतिबद्ध छ : पर्यटन मन्त्री पाण्डे

मंसिर ८, २०८१ | भैरहवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सिद्वार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाउनु भएको हो । 

काठमाडौंको जस्तै भैरहवास्थित विमानस्थलमा न्यारो र वाइडबडी जहाज उडान÷अवतरण गर्न सक्ने भएकाले सम्भावना प्रशस्त रहेको उहाँको भनाई छ । भैरहवाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान वृद्धि गरेर पर्यटनको केन्द्र बनाउन आवश्यक भूमिका खेल्न तयार रहेको उहाँको भनाई छ । 

‘विमानस्थलमा देखिएको रुट र उपकरण जडानका समस्या हल गर्न भारतीय समकक्षीसित छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले उपलब्ध सम्भावनालाई व्यवस्थित गरेर जानुपर्छ, त्यसका लागि महिनामा दुई दिन भैरहवा बसेर काम गर्न तयार छु ।’ 

विमानस्थल सञ्चालन गरेर अहिले पाइरहेको बधाइ निरन्तर पाउन पनि आफू गम्भीर रहेको उहाँले बताउनुभयो । त्यसैले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक सबै काम पूरा गर्न मन्त्रालय तयार रहेको मन्त्री पाण्डेले बताउनुभयो । 

नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले यस विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान वृद्धि गरेर पर्यटनको केन्द्र बनाउन आवश्यक भूमिका खेल्न तयार रहेको पनि बताउनुभयो ।

यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमानस्थललाई दिगो रुपमा सञ्चालनका लागि प्रत्येक व्यक्तिले सकारात्मक भूमिकाको आवश्यकता औंल्याउनुभयो । विमानस्थल सञ्चालनपछि अहिले गरिएको लगानीबाट लाभ मिल्ने र नया“ लगानी भित्रिने भएकाले निजी क्षेत्रका संघसंस्था एकजुट भएर लाग्नुपर्ने ढकालले बताउनुभयो ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले उदघाटनसँगै केही वायुसेवाले थालेको उडान रोकिनुको कारण अध्ययन गरेर सरकारलाई दिएको सुझाव कार्यान्वयनपछि अन्तराष्ट्रिय उडान सम्भव भएको बताउनुभयो । काठमाडौंको विकल्पमा रुपमा निर्माण गरिएको विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि विदेशी हवाई कम्पनीसित अनुरोध गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

‘अहिले पाँच वटा वायु सेवाका जहाजले यहाँ उडान थाल्नु आशलाग्दो कुरा हो,’ उहाँले भन्नुभयो, ‘यहाँ उडान गर्ने वायु सेवा र यात्रुलाई राहत प्याकेज दिएर भएपनि यहा“बाट उड्ने यात्रुको संख्या बढाउनुपर्ने देखिन्छ । त्यसका लागि प्रचारप्रसार जरुरी छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले उद्घाटनको साढे दुई वर्षपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पा“च वायु सेवा कम्पनीले उडान थाल्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । अहिले दैनिक अन्तर्राष्ट्रिय उडान हुन थालेपछि फेरि निजी क्षेत्रमा नयाँ सञ्चार भएको श्रेष्ठको भनाई छ । 

‘हामीले लामो समयदेखि विमानस्थल सञ्चालनका लागि दबाबमुलक आन्दोलन गर्दै आएका थियौं,’ उहाँले भन्नुभयो, ‘अहिले आएर हाम्रा माग सुनुवाई भएका छन्, अब फेरि रुपन्देहीका बासिन्दाले निराशा व्यक्त गर्नु नपरोस, यसतर्फ सरकार सचेत होस ।’ 


प्रतिक्रिया