नेपालबाट ११ अर्ब बढीको भटमास र सूर्यमुखीको तेल भारत निर्यात

माघ २१, २०८१ | काठमाडौं

भारतीय तेलको तुलनामा नेपाली भटमास र सूर्यमुखीको प्रशोधित तेल सस्तिएपछि वीरगन्ज नाकाबाट तेलको भारत तर्फको निकासी ह्वात्तै बढेको छ । 

गत आर्थिक वर्षको साउनदेखि पुस सम्मको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा भटमासको तेलको निकासी करीब ४ हजार गुणाले र सूर्यमुखीको तेलको निकासी करीब तीन हजार गुणाले वृद्धी भएको हो । 

पछिल्लो २ महिनामा भटमास र सूर्यमुखी तेलको निकासी बढदो क्रममा छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको समिक्षा अवधिमा वीरगन्ज नाका हुँदै भारततर्फ ११ अर्ब ९९ करोड १८ लाख ५२ हजार रुपैयाँ बराबरको ५ करोड ६० लाख ६६ हजार ४४ लिटर भटमासको प्रशोधित तेल निकासी भएको छ । 

गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ११ लाख रुपैयाँ बराबरको १ लाख ५१ हजार तीन सय १ लिटर भटमासको तेल भारत निकासी भएको थियो । त्यस्तै समिक्षा अवधिमा ३ अर्ब २१ करोड ९१ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ३४ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल यो नाका हँुदै भारत निकासी भएको छ ।

 गत आर्थिक वर्षको सोहि अवधिमा ९ करोड ९४ लाख रुपैयाँ बराबरको ५ लाख २७ हजार २ सय ९१ लिटर सूर्यमुखी तेल भारत निकासी भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले बताउनुभयो । 


प्रतिक्रिया