साँगा–धुलिखेल सडक विस्तारको काम समयमै नहुने सङ्केत

फाल्गुन ३, २०८१ | काठमाडौं
अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्ड बिस्तारको काम निर्धारित समयमा पूरा नहुने देखिएको छ । सडकखण्ड बिस्तार सुरु भएको दुई वर्षमा जम्मा ३८ प्रतिशत मात्रै काम भएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी दुई वर्षअघि २०७९ देखि सडक बिस्तार कार्य थालिएको थियो ।
सो अवधिमा जम्मा ३८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएकाले समयमै निर्माण पूरा नहुने देखिएको हो । सडक विभाग अन्तर्गतको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भने तोकिएको समयमा सम्पन्न गर्नेगरी काम भइरहेको दाबी गर्नुभयो । साँगा–धुलिखेल खण्ड अन्तर्गत महादेव खोला र पुण्यमाता खोलामा पुल निर्माणका लागि डिजाइन तयारी पनि भइरहेको उहाँको भनाई छ । सडकखण्डका विभिन्न स्थानमा कल्भर्ट निर्माण गरिएको छ ।
राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको दायाँ–बायाँमा रहेका १६ वटा घर हटाउनुपर्ने सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताउनुभयो । सडक बिस्तारको ठेक्का पाएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले भने सरकारबाट पूर्ण रुपमा बजेट कार्यान्वयन नभएकोले निर्धारित समयमै काम सम्पन्न हुन नसक्ने जनाएको छ । सरकारले पूर्ण बजेट उपलब्ध गराउन नसक्दा समयमै काम सक्न कठिन देखिएको लामा कन्स्ट्रक्सनका इन्जिनियर रविन्द्र श्रेष्ठले बताउनुभयो ।