बर्दिया राष्ट्रिय निकुञ्जमा सात महिनामा साढे १४ हजार पर्यटक

फाल्गुन १९, २०८१ | बर्दिया

विश्वमै पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको ७ महिनामा मात्रै साढे १४ हजार पर्यटकले बर्दिया निकुञ्जको भ्रमण गरेका छन् । 

गत साउनदेखि माघ मसान्तसम्म आन्तरिक र बाह्य गरी १४ हजार ७ सय ९४ जना पर्यटक भित्रिएको निकुञ्ज कार्यालयले जनाएको छ । ती मध्ये १० हजार ४ सय ३० जना आन्तरिक पर्यटक रहेको निकुञ्जले जनाएको छ । सो अवधिमा सार्क मुलुकबाट ७ सय ९ र तेस्रो मुलुकबाट ३ हजार ३ सय ५५ जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २ सय ९७, आव ०७९/०८० मा २४ हजार ३ सय ९८ र आव ०८०/०८१ मा २६ हजार १ सय ३१ पर्यटकले अवलोकन गरेका थिए । 

निकुञ्ज प्रवेशका लागि आन्तरिक पर्यटकलाई १ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई ७ सय ५० र तेस्रो मुलुकका पर्यटकलाई १ हजार ५ सय शुल्क तोकिएको छ । अधिकांश पर्यटकहरु बाघ हेर्नका लागि आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो । ‘निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन्,’ उहाँले भन्नुभयो, ‘बर्दिया निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ ।’ 

प्रमुख संरक्षण अधिकृत रामका अनुसार निकुञ्जमा रहेका ३८ वटा गैंडा मध्ये कतिपय सिमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् । निकुञ्जमा आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश पर्यटकले पाटे बाघ लगायत अन्य वन्यजन्तुको अवलोकन गरी फर्किने गरेका छन् । बर्दिया निकुञ्ज बाहिर ३० बढी साना र ठूला होटल सञ्चालनमा छन् । डल्ला होम स्टे पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ । 

निकुञ्ज आसपास झण्डै २० वटा होमस्टे रहेका छन् । निकुञ्ज बाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायत ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यस बाहेक पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्रहालय, दृटिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोर बाहिरबाट अवलोकन गर्न सकिने निकुञ्ज कार्यालयले जनाएको छ । 


प्रतिक्रिया