मुग्लिन पोखरा सडक : पूर्वी खण्डको काम सकियो

असार २, २०८२ | पोखरा
पृथ्वीराजमार्ग अन्तर्गत पूर्वी खण्डको अँबुखैरेनी–जामुने सडकको निर्माणको काम सकिएको छ । मुग्लिनबाट पोखरा जाने ९० किलोमिटर सडकमध्येको मर्स्याङदी जलविद्युत गृह छेउछाउको सात किलोमिटर बाहेक पूर्वी खण्डको अँबुखैरेनी–जामुनेको ४१ दशमलव ४५ किलोमिटर सडकको काम जेठ मसान्तमा सकिएको हो ।
पूर्वी खण्डका सबै १८ वटा मध्ये १७ वटा पुलको निर्माण सम्पन्न भएको छ । तनहुँको दमौली मादी खोलाको पुल भने निर्माणकै क्रममा छ ।
सन् २०२५ सेप्टेम्बरमा काम सक्ने गरी एक अर्ब २१ करोड रुपैयाँमा मादी पुलको ठेक्का ११ अगष्ट २०२२ मा सम्झौता भएको थियो । सडक आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले निर्माण सम्पन्न भएका पुलको रंगरोगनको काम भईरहेको बताउनुभयो ।
मर्स्याङदी जलविद्युत गृहबाट मुग्लिनतर्फ जाने सात किलोमिटर सडक बिस्तारको काम भने अहिले सुरु भएको छैन । पृथ्वीराजमार्गको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार असार मसान्तसम्ममा निर्माण सकिने लक्ष्य अनुसार एउटा पुलबाहेक सडकको काम सकिएको छ ।
सो सडकको काम पूरा गर्न यसअघि तीन पटकसम्म म्याद थपिएको थियो । मुख्य सडकको सबै निर्माणको काम सकिएपनि सो खण्डमा पर्ने दमौली र डुम्रे बजारमा पर्ने २ सय मिटर सर्भिस लेन भने निर्माणाधीन अवस्थामा छ । वर्षा रोकिए एक सातामा सर्भिस लेन निर्माणको काम पनि पूरा हुने सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
यो सडक खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन र राजमार्गका ४ लेनको सडक निर्माण भएको छ । २०२६ मा रेखांकन भएको पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा साबिक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गरिएको हो । सूचना अधिकारी पाण्डेका अनुसार पूर्वी खण्डको सडक निर्माण ६ अर्ब २१ करोडको लागतमा काम सम्पन्न भएको हो ।