एनसेलको करोडपति योजना बन्द

श्रावण ४, २०८२ | काठमाडौं

दूरसञ्चार सेवा प्रदायक एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द भएको छ । आफ्ना उत्पादन तथा योजना प्रवद्र्धन गर्न विभिन्न कम्पनीले ग्राहक योजना ल्याउने अभ्यास रहेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको योजनामा अचानक हस्तक्षेप गरेको हो । 

एनसेलले प्राधिकरणलाई जानकारी दिएर नै आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले योजना सुरु गरिएको दाबी गरेको छ । साउन १ देखि योजना बन्द गरिए पनि विजेता घोषणा भइसकेका ग्राहकलाई पुरस्कार प्रदान गर्ने प्रक्रियालाई भने निरन्तरता दिइने एनसेलले उल्लेख गरेको छ । नियामक प्राधिकरणले भने एनसेलको ग्राहक योजनालाई चिट्ठा कार्यक्रमको संज्ञा दिएको छ । 

चिट्ठा ऐन २०२५ अनुसार यस्तो योजना बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो । एनसेलले करोडपति योजनाबारे जानकारी दिएको र त्यस बखत नै रोक्नुपर्नेमा ढिलाइ भएको प्राधिकरणका अधिकारीको भनाई छ । चिट्ठा खोलिसकेको विषयमा के गर्ने भन्ने विषयमा पनि प्राधिकरणले अध्ययन गरिरहेको र अबको केही दिनपछि निर्णय गरिने जनाएको छ । 

एनसेलले ‘सधैं अन करोडपति योजना’ चार साता पूर्ण रुपमा सञ्चालन गरिसकेको छ । पाँचौं साताको कार्यक्रम चलिरहेका बेला प्राधिकरणले यसलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । पाँचौं साताको आइतबारदेखि बुधबारसम्म टिकट जित्नेलाई बिहीबार प्रत्यक्ष प्रसारण गरी विजेता घोषणा गरिएको थियो । बम्पर पुरस्कार स्वरुप १ करोड रुपैयाँका विजेतासमेत घोषणा भइसकेको छ ।


प्रतिक्रिया