सन् २०२४ मा ३ सय ८३ मानवीय सहायताकर्मीको हत्या

भाद्र ३, २०८२ | काठमाडौं
सन् २०२४ मा पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै मानवीय सहायताकर्मीको हत्या भएको पाइएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०२४ मा विश्वभर ३ सय ८३ जना सहायताकर्मीको हत्या भएको छ । हत्या भएका मध्ये १ सय ८० जना बढी इजरायल–हमासबीच जारी गाजा युद्धका क्रममा मारिएका छन् ।
राष्ट्रसंघीय मानवीय सहायता प्रमुख टम फ्लेचरले यो स्थितिलाई गम्भीर चेतावनीको संकेत मान्दै सहायता कार्यकर्ता र सर्वसाधारण नागरिकको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२३ मा २ सय ९३ जना सहायताकर्मीको हत्या भएको थियो भने भने २०२४ मा यो संख्या बढेर ३ सय ८३ पुगेको हो । राष्ट्रसंघका अनुसार पछिल्लो सात महिनामा मात्रै २ सय ६५ जना सहायता कर्मीको मृत्यु भएको छ ।