गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक

चैत्र २३, २०७७ | काठमाडौं

गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा सो गीतको भिडियो सार्वजनिक गरिएको थियो । 

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । 

उनले आगामी दिनमा यसका गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । उनले भनिन्, ‘गीतमा न्याय गर्ने कोसिस गरेकी छु ।’ गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए । 

उनीसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘भिडियोको रिहल्सलमा केही नर्भस थिए । यद्यपि, छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँग काम गर्दा निकै राम्रो भयो ।’ 

उनले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमा जोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताईन । 

सोनाले भनिन्, ‘गायन र नृत्यसँगै अभिनय पनि छ । यो सम्पूर्ण टीमको कारण सम्भव भएको हो ।’ शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षा लिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् । राणाले भनिन्, ‘उहाँले गायन र अभिनय मार्फत आफ्नो कामलाई न्याय गर्नु भएको छ । आउँदा दिनमा अझै सफलताको शुभकामना ।’ 

भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमूल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, नवीन निरौलाको कलर र सम्पादन, दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँसँगै मोबाइल फोन र पहिलो हुनेले ५० हजार रुपैयाँसँगै मोबाइल फोन प्राप्त गर्नेछन् ।

यो पुरस्कार वितरण सोनाकै तीन सातापछि सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ । सो कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।


प्रतिक्रिया