इराकमा अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन

माघ १०, २०७६ | काठमाडौं

अमेरिकी सेनाले तत्काल आफनो मुलुक छोड्नुपर्ने माग गर्दै इराकको राजधानी बगदादमा बृहत्त प्रदर्शन भएको छ । 

इराकको शिया मुस्लिम पुरोहित मोक्तादा अल–सदरको आह्वानमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । 

इरानको समर्थन प्राप्त लडाकु समूह पनि प्रदर्शनमा उत्रिएको छ । अमेरिकाले बगदाद विमानस्थल नजिक मिसाईल आक्रमण गरी इरानका उच्च सैन्य कमाण्डर कसिम सोलेमानीको गत जनवरी ३ मा हत्या गरेपछि तनाव बढ्दो छ । 

सो क्रममा इरानको कतैब हेजबोल्लाह लडाकु समूहका कमाण्डर अबु मेहदी अल–मुहान्दिज पनि मारिएका थिए । त्यसको विरोध गर्दै प्रदर्शनकारीले इराकमा अमेरिकी सैनिकको उपस्थिती विरुद्ध नाराबाजी गरेका छन् । 

इस्लामिक अतिवादी संगठन आईएस विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धन अन्तर्गत करिब ५ हजार अमेरिकी सैनिक इराकमा तैनाथ छन् । 


प्रतिक्रिया