विश्वमा कोरोना संक्रमण कालान्तरसम्म रहीरहन सक्ने : डब्लुएचओ

जेष्ठ १, २०७७ | .काठमाडौं

विश्वमा कोरोना संक्रमण कालान्तरसम्म रहीरहन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको आकस्मिक सेवा तर्फका निर्देशक डा. माइक रायनले जेनेभामा सम्पन्न भिडियो प्रेस ब्रिफिङका क्रममा भन्नुभयो, कोरोना भाइरसको संक्रमण हामीमाझ कालान्तरसम्म रहीरहन सक्छ, यो कहिले अन्त्य नहुन पनि सक्छ । 

कोरोना भाइरस संक्रमणका विषयमा अनेकन भविष्यवाणी नगर्न सकेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल नै पार्न सकिन्छ भन्न सकिन्न । उहाँले संक्रमण रोक्ने खोप पत्ता लगाएपनि भाइरसको अस्तित्व रहीरहन सक्ने बताउनुभयो । 

 निर्देशक डा. रायनले कोरोना संक्रमण विरुद्ध दिइने करिब एक सय वटा संभावित भ्याक्सिनको विकास भएपनि त्यसको प्रभावकारीतामा भने प्रश्न उठेको बताउनुभयो । यद्यपी डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अझैपनि कोरोना भाइरस संक्रमण नियन्त्रण सम्भव भएको बताउनुभएको छ । प्रत्येक व्यक्तिले संक्रमण विरुद्धको गतिविधि गरेकोले पनि सो भाइरस निमुल पार्न सकिने गेब्रेयससको भनाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

यसैबीच डब्लूएचओले महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा पनि विश्वका कतिपय राष्ट्रले जारी लकडाउन खुकुलो पारेकोप्रति आपत्ति जनाएको छ । भाइरस नियन्त्रणको प्रयास जारी रहेका बेला लकडाउन खुकुलो पार्दा पुन: जोखिमको चुनौती थपिने डब्लुएचओको चेतावनी छ ।


प्रतिक्रिया