इजरायलमा सरकारविरुद्ध प्रदर्शन

श्रावण ११, २०७७ | काठमाडौं

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारी नीति प्रभावकारी नभएको भन्दै इजरायलमा हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । सरकारी नीतिका कारण मुलुकका आर्थिक मन्दी, बेरोजगारी र भ्रष्ट्राचार एवं अनियमितता बढेको भन्दै हजारौं मानिस सडकमा निस्किएर विरोध गरेका हुन् ।

 सरकारविरुद्धको प्रदर्शनका क्रममा आज १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले ल्याएको संक्रमण नियन्त्रण र राहत वितरणको नीति प्रभावकारी नभएको र राहत प्राप्तीमा भइरहेको ढिलाईले सर्वसाधारण प्रभावित भइरहेको भन्दै जेरुसेलममा हजारौंको संख्यामा मानिसहरु जम्मा भई विरोध गरेको अलजजिराले उल्लेख गरेको छ ।

सरकारले ल्याएको राहतको नीतिले जनताको जीविकोपार्जन दिन प्रतिदिन कठिन बन्दै गएको उनीहरुको आरोप छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउनुपर्ने र महामारीका कारण रोजगारी गुमाएकाहरुको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरुले माग गरेका छन् । 


प्रतिक्रिया