बुटवल बजारमा मध्यरातमा बाढी पसेपछि...

वैशाख ३०, २०८१ | बुटवल

मध्यरातमा अचानक आएको बाढीले रुपन्देहीको बुटवलका विद्यालय, उद्योग र दर्जनो निजी घरमा बितण्डा मच्चाएको छ । पाल्पाको दोभान क्षेत्र र बुटवलमा शनिबार मध्यरातदेखि अबिरल वर्षा भएको थियो । 

लामो समयपछिको वर्षाले किसानलाई राहत दिएपनि सामान्य हेलचेक्रयाँईले भने बुटवलमा समस्या परेको छ । बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाई नहुँदा मध्यरातमा आएको बाढी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो । 

बाढी पसेर कक्षाकोठा एवं विद्यालय कम्पाण्ड नै डुबानमा परेपछि न्यू होराईजनले आइतबार विद्यार्थीलाई बिदा दिएको छ । शिक्षकलाई भने विद्यालयमै उपस्थित गराएर सरसफाई र व्यवस्थापन सुरु गरेको छ । 

बुटवल उपमहानगरपालिका—११ देवीनगरमा रहेको होराईजनको कक्षा १ देखि ७ सम्म अध्ययन हुने भवनमा देवीनगर, कालिकानगर, योगीकुटी हुँदै तिलोत्तमा क्षेत्रका विभिन्न खेतमा सिंचाईका लागि लगिएको स्रोहृ छत्तिस नहरको पानी नहर सरसफाईकै अभावमा विद्यालयमा पसेको हो ।

विद्यालयका पहिलो तलाका अधिकांश कक्षा कोठा डुबानमा परेको र खेल मैदानमा पनि पानीको लेदो भरिएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै, बाढीले बुटवलस्थित राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय पुरै डुबानमा परेको छ । राति २ बजेदेखि नै कार्यलय छेउको नाली भरिएर पानी कार्यालयमा प्रवेश गरेपछि कार्यालयका फर्निचर सहितका सामग्री डुबानमा परेको राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताउनुभयो ।

‘राति दुई बजेपछि पश्चिम नेपाल बस व्यवसायी प्रालिको कार्यालय तर्फबाट पसेको भलले निकास नपाएपछि रासस कार्यालय डुबानमा परेको हो,’ उहाँले भन्नुभयो, ‘डुबानबाट कार्यालयका फर्निचर, कम्प्यूटर, ल्यापटप, प्रिन्टर लगायत सामग्री नष्ट भएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा तिनाउ खोला बढेपछि नहर हुँदै बजार प्रवेश गरेको बाढीले फूलबारी टोल, रासस कार्यालय रहेको क्षेत्र, रुपन्देही उद्योग संघ, लगायत कार्यालय, दर्जनौं घर र विद्यालयमा पनि क्षति पुर्‍याएको बताउनुभयो । 

‘लामो समयदेखि पानी नपरेको अवस्थामा बजार क्षेत्रका नालीहरुमा फोहोर थुप्रिएको रहेछ,’ उहाँले भन्नुभयो, ‘अचानक आएको बाढीलाई नालीले थेग्न नसक्दा धेरै तिर नोक्सान गराएको छ । अहिले क्षतिको विवरण संकलन गर्दै छौं ।’ 

लामो समयदेखि टोल विकास संस्थाहरुले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहनुपर्ने उहाँले बताउनुभयो ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय सार्न थालिएको बताउनुभयो । 

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताउनुभयो । 

उद्योगी अशोक कुँवरले कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको बताउनुभयो । कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको थियो । 


प्रतिक्रिया