पर्सामा स्थानीयले बाघ मारे

वैशाख ३०, २०८१ | पर्सा

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा एक जनालाई आक्रमण गरी घाइते बनाएको बाघलाई स्थानीयले मारेका छन् । शनिबार साँझ ५ बजेतर सखुवाप्रसौनी गाउँपालिका–१ औराहारेन्जमा स्थानीय ३६ वर्षीय भीमबली महतोलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो । 

घर नजिकको मकै बाली हेर्न गएका महतोलाई बाघले आक्रमण गरेको थियो । महतोलाई आक्रमण गरेको देखेपछि स्थानीयले बन्चरो, भाला आदिले आक्रमण गरी सो बाघ मारेका थिए । महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । 

नजिकको राष्ट्रिय वनबाट आएको बाघ मारिएपछि बडनिहार सब–डिभिजन कार्यालयले शनिबार साझ नै मृत बाघलाई कार्यालयमा ल्याएर राखेको वन अधिकृत संजय कुमार चौरसियाले जानकारी दिनुभयो । 

मृत बाघ करीब १०/११ महिनाको भाले बाघ रहेको अनुमान गरिएको उहाँको भनाई छ । 

बाघको पोष्टमार्टमका लागि पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीलाई शनिबार साँझनै बोलाइएकोमा निकुञ्जको टोली भने आइतबार दिउँसो मात्र आईपुगेको उहाँले बताउनुभयो । 

प्राविधिक टोलीले मृत बाघको महत्वपूर्ण अंगहरु झिकेर पोष्टमार्टमको लागि लग्ने चौरसियाले जानकारी दिनुभयो ।


प्रतिक्रिया