भारतका गृहमन्त्री शाहलाई पनि कोरोना पुष्टि

श्रावण १८, २०७७ | नयाँ दिल्ली

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शाह आफैले आइतबार साँझ ट्वीट मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । हाल उनको अस्पतालमा उपचार भईरहेको छ । 

शाहले आफूलाई भाइरसको शुरुआती लक्षण देखिनासाथ परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको ट्विटमा उल्लेख गरेका छन् । शाहले ट्वीटरमा लेखेका छन्, ‘मेरो अवस्था ठिक छ तर, डाक्टरको सल्लाह अनुसार अस्पतालमा भर्ना भएको छु ।’

साथै उनले पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसन बस्न र स्वास्थ्य परीक्षण गर्न पनि अनुरोध गरेका छन् । भारतमा विगत केदीदिन यता कोरोना भाइरसको संक्रमण तीब्र रुपमा वृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार नयाँ संक्रमित थपिएका छन् । 

नयाँ संक्रमितको संख्या पचास हजार नाघेको यो लगातार तेस्रो दिन हो । योसँगै भारतमा कुल संक्रमितको १७ लाख पचास हजार नाघेको छ । साथै हालसम्म ३७ हजार ३ सय ६४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । 

विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरुमध्ये भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ भने संक्रमणबाट मृत्यु हुने संख्याका हिसाबले इटालीलाई समेत उछिन्दै पाँचौ स्थानमा पुगिसकेको छ । संक्रमितमध्ये करीब एघार लाख भने उपचार पछि निको भइसकेका छन् ।

भारतमा पहिलो संक्रमण ३० जनवरीमा केरलामा पुष्टि भएको थियो । तर, करीब महिनाभित्रै संक्रमितको संख्याले करीब १७ लाख नाघेको हो । भारतमा संक्रमित संख्या पहिलो एक लाख पुग्न साढे तीन महिना लागेकोमा थप सोह्र लाखका लागि तीन महिना पनि लागेन । हालसम्म भएको मृत्यु मध्ये आधा भन्दा बढी यही जुलाई महिनामै भएको हो । 

कोरोना संक्रमण रोक्नका लागि गरिएको कडाईलाई पछिल्लो दिनमा खुकुलो पार्ने क्रमसँगै संक्रमण तिब्र ढंगले फैलिरहेको देखिन्छ । शनिबार मात्रै भारतको उत्तरप्रदेश राज्यकी मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । उनी योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । 


प्रतिक्रिया