आगामी सेप्टेम्बरसम्म सम्पूर्ण वयस्कलाई खोप लगाउने बेलायतको दावी

माघ ४, २०७७ | काठमाडौं

बेलायतले आगामी सेप्टेम्बर अगावै सम्पूर्ण वयस्कलाई कोरोना संक्रमण विरुद्धको खोप लगाउने योजना पूरा हुने जनाएको छ । विदेशमन्त्री डोमिनिक रावले आगामी फेबु्रअरी मध्यसम्ममा डेढ करोड जनालाई खोप लगाइने बताउनुभएको बीबीसीले जनाएको छ । त्यस्तै स्प्रिङ अर्थात जुन २१ सम्म थप १ करोड ७० लाख जनामा खोप लगाइने बेलायतले जनाएको हो । 

खोप कार्य संचालनका लागि आगामी १० दिन भित्र अस्थाई खोप केन्द्रको विस्तार गरिने विदेशमन्त्री रावले बताउनुभएको छ । आज एकै दिन बेलायतमा ३ लाख २४ हजार २ सय ३३ जनामा संक्रमण विरुद्धको खोप लगाइएको छ । यो संगै बेलायतमा हालसम्म ३५ लाख जनाले संक्रमण विरुद्धको खोप लगाएका छन् । नयाँ स्वरुपको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले सावधानी भने बढाउँदै गरिएको उहाँले बताउनुभयो ।

 गत साता देखी विदेशबाट भित्रिने सबैजनालाई अनिवार्य क्वारेन्टिनमा बस्नैपर्ने बेलायतले उर्दी जारी गरेको छ । बेलायतमा हालसम्म ३३ लाख ६७ हजार ७० जनामा संक्रमण पुष्टी भएको छ । ८८ हजार ७ सय ४७ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।


प्रतिक्रिया