चीनले उइगुर मुस्लिममाथि नरसंहार गरेको अमेरिकाको आरोप

माघ ७, २०७७ | काठमाडौं

चीनले उइगुर मुस्लिममाथि नरसंहार गरेको अमेरिकाले आरोप लगाएको छ । उइगुर र अन्य मुस्लिमलाई दबाउने क्रममा चीनले नरसंहार गरेको र यो क्रम जारी रहेको अमेरिकाका विदेशमन्त्री माईक पोम्प्योले आरोप लगाउनुभयो ।

आफ्नो कार्यकालको अन्तिम दिन विदेशमन्त्री पोम्प्योले उइगुरलाई नष्ट गर्ने व्यवस्थित प्रयासलाई विश्वले टुलुटुल हेर्नवाहेक कुनै कदम चाल्न नसकेको बताउनुभयो । आज राष्ट्रपतिको शपथ लिने जो बाईडेनले विदेशमन्त्रीका लागि चयन गरेका एन्टोनी ब्लिङ्केनले पनि पोम्प्योको सो भनाईप्रति समर्थन जनाउनुभएको छ ।

विभिन्न अधिकारवादी संगठनहरुले पनि शिक्षा शिविर लगायतको नाममा चीनले लाखौं उइगुरहरुलाई केही बर्षदेखि बन्दी बनाइरहेको आशंका गर्दै आएका छन् । उइगुरलाई जवरजस्ती श्रममा समेत लगाएको पाइएको बीबीसीले उल्लेख गरेको छ । 

चीनको झिन्झियाङ क्षेत्रमा १ करोड १० लाख बढी उइगुर मुस्लिमको बसोबास रहेको छ । सो क्षेत्रमा पृथकतावाद, आतंकवाद र अतिवाद मुख्य शत्रु रहेको भन्दै बेइजिङले भने त्यसलाई परास्त गर्न तालिम लगायत विभिन्न उपायहरु अपनाइरहेको दाबी गर्दै आएको छ । 


प्रतिक्रिया