नाइजेरियाको नाइजरबाट अपहरणमा परेका २७ विद्यार्थी सहित ४२ जना अपहरणमुक्त

फाल्गुन १५, २०७७ | काठमाडौं

नाइजेरियाको उत्तर–मध्य राज्य नाइजरबाट दश दिन अघि अपहरणमा परेका २७ विद्यार्थी सहित ४२ जना आज अपहरणमुक्त भएका छन् । अपहरणमा परेका २७ जना विद्यार्थी, १२ जना अभिभावक र स्कुलका अन्य ३ कर्मचारीहरू अपहरणमुक्त भएको नाइजर प्रान्तका गभर्नर अबु–बकर सानी बेलो–लाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । 

नाइजरको कागरा जिल्लाको सरकारी विज्ञान माध्यमिक विद्यालयमा सशस्त्र समूहले आक्रमण गर्दै उनीहरुलाई अपहरण गरेका थिए । सशस्त्र समूहले नाइजेरियाली सरकारसँग फिरौतीको सहमति भएपछि मात्रै उनीहरुलाई छोडेको हो । यसअघि नाइजेरियाको जामफेरास्थित एक विद्यालयबाट हिजो ३ सय भन्दा बढी छात्राको अपहरण भएको थियो ।

 उनीहरुको अवस्था अझै अज्ञात छ । नाइजेरियामा सशस्त्र लुटेरा तथा अपहरणकारीको समूहले अपहरणलाई आफ्नो पेसा नै बनाएका छन् । उनीहरुले फिरौतीको मागसहित पटक पटक विद्यार्थी र सर्वसाधारणको अपहरण गर्ने गरेका छन् । गत डिसेम्बर महिनामा पनि सशस्त्र समूहले एक विद्यालयका ३ सय छात्रलाई अपहरण गरेको थियो । सरकारी पहलपछि उनीहरुलाई केही समयपश्चात रिहा गरिएको थियो । 


प्रतिक्रिया