बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनामाथि मानवता विरुद्धको अपराध गरेको आरोप

असार २६, २०८२ | काठमाडौं
बंगलादेशको अन्तराष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र दुई जना वरिष्ठ अधिकारीमाथि गत जुलाईमा भएको प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको अभियोग लगाएको छ । गत जुलाईमा विद्यार्थीको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनीको दौरान करिब १५ सय नागरिक मारिएका थिए ।
मानवताविरोधी सो घटनामा मुद्दाको सुनुवाइ अगस्ट ३ तारिखलाई तोकिएको छ । न्यायाधिश गोलम मोर्तुजा मोजुम्दारको नेतृत्वमा न्यायाधीशहरु सफियुल अलाम मसुद र मोहितुल एनाम चौधरीले आज हसिनामाथि औपचारिक अभियोग लगाउनुभएको हो ।
बंगलादेशमा विद्यार्थीको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनपछि अपदस्थ भएकी हसिना गत अगस्टमा भारत पलायन हुनुभएको थियो । यसअघि,हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिना जेल सजाय सुनाइएको थियो ।