चीनका कारण सुरक्षामा चुनौती बढीरहेको नेटोको चेतावनी

असार १, २०७८ | काठमाडौं

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले चीनका कारण गठबन्धनको सुरक्षामा असामान्य चुनौती बढीरहेको चेतावनी दिएको छ । नेटोको शिखर बैठकमा नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले उत्तर एटलान्टीक र अफ्रिकामा सैन्य र प्राविधिक क्षमतामार्फत चीन नेटोको नजिक आइरहेको बताउनुभएको छ ।

 बेइजिङले साइबर र संवेदनशील क्षेत्रमा पूर्वाधार क्षेत्रमा आफ्नो लगानी बिस्तार गरिरहेको उहाँको भनाई छ । नेटोका नेताहरुले आफ्नो पूर्वी क्षेत्रमा रुसले निर्माण गरिरहेका सैन्य संरचनाका कारण पनि अस्थिरता निम्त्याइरहेको भन्दै तत्काल रुससँग सामान्य व्यवहार गर्न नसकिने बताएका छन् । 

यद्यपी उनीहरुले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि स्पष्ट पारेका छन् । कम्युनिस्ट विस्तारको जोखिमको सामना गर्न दोस्रो विश्व युद्धपछि स्थापना गरिएको युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धन नेटोमा ३० सदस्य राष्ट्र आबद्ध छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार हुने दुईपक्षीय छलफलमा आफ्ना रुसी समकक्षी भ्यादिमिर पुटिनसँको सीमारेखा आफूले कोर्ने बताउनुभएको छ । नेटोको शिखर बैठकपछि प्रतिक्रिया दिँदै बाइडेनले पुटिनलाई चतुर नेताको संज्ञा दिँदै आफूले कठिन प्रतिद्वन्द्वीका रुपमा लिएको बताउनुभयो । मस्को तयार रहे आफू सहकार्यका लागि इच्छूक रहेको तर रुसले घातक गतिविधि गरे अमेरिकाले त्यसको कडा जवाफ दिने चेतावनी समेत दिनुभयो । दुई देशबीच बुधबार दुईपक्षीय छलफल हुँदैछ ।  


प्रतिक्रिया