प्रतिस्थापन विधेयकहरु फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी

फाल्गुन २९, २०८१ | काठमाडौं

सरकारले ५ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदको दुवै सदनबाट फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । संसदमा प्रस्तुत भएको अध्यादेश ६० दिनभित्र दुवै सदनबाट पारित गर्नुपर्ने प्रावधान अनुसार आगामी चैत १८ गतेभित्र पारित भएर प्रमाणीकरण गर्नुपर्ने अवस्था छ । ती अध्यादेश गत माघ १८ गते संसदमा पुगेका थिए ।

समय चापका कारण समितिमा नपठाई विधेयक पारितको प्रक्रिया अघि बढाउने तयारी भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । ५ वटा विधेयकमध्ये प्रतिनिधिसभाको बैठकमा हिजो सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक र सहकारीसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सकिएर संशोधन प्रस्ताव दर्ता गर्ने प्रक्रिया शुरु भएको छ । प्रवक्ता गिरीका अनुसार, बाँकी तीन वटा विधेयकमाथि आगामी आइतवार बस्ने बैठकमा सैद्धान्तिक छलफल गरिनेछ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बाँकी छन् । दफावार छलफलका लागि संसदीय समितिमा नपठाई फूल हाउसबाट पारित गर्ने गृहकार्य भएको छ । प्रतिनिधिसभापछि राष्ट्रिय सभाबाट समेत पारित गरेर विधेयक प्रमाणिकरण गर्नुपर्ने अवस्था भएकाले फास्ट ट्रयाकको विधि अपनाउन लागिएको हो । 


प्रतिक्रिया