हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली

फाल्गुन २९, २०८१ | काठमाडौं

रङहरूको पर्व फागु अर्थात् होली आज काठमाडौं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । तराईका जिल्लामा भने होली भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिनपछि तराईमा फागु पर्व मनाउने गरिएको छ । फागुको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको थियो । 

 आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु पर्व विभिन्न रङ र अबिर दलेर उमंगकासाथ मनाउने परम्परा छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा फागु पर्व मनाउने गरिन्छ । यसैबीच, पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फागू पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । फागुको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दलका नेताहरुले पनि पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

रेडियो कान्तिपुरको विशेष कार्यक्रम

रेडियो कान्तिपुरले ललितपुरको जावलाखेलमा होलीको विशेष कार्यक्रम ग¥यो । होली कार्यक्रममा प्रकाश सपुत, शान्ति रानी परियार, खेम सेन्चुरी, गिरिश खतिवडा, शिरिष देवकोटा लगायत कलाकारले सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रममा उल्लेख्य रुपमा दर्शकहरुको सहभागीता रह्यो । 

रेडियो कान्तिपुरले वर्षेनी होली कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । यसैबीच, काठमाडौंको बसन्तपुर दरवार क्षेत्रमा फागू पूर्णिमा मनाइएको छ । उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण होली मनाउन बसन्तपुर पुगेका थिए । होली खेल्न थुप्रै विदेशी पर्यटक समेत सहभागी भएका थिए । होलीको दिन ट्राफिक प्रहरीले विभिन्न सडकमा सवारी जाँचमा कडाइ गरेको छ । 


प्रतिक्रिया