रुसद्वारा युक्रेनसँगको अल्पकालीन युद्धविराम तत्कालका लागि खारेज

फाल्गुन २९, २०८१ | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीले युक्रेनका लागि अस्थायी राहत बाहेक अरू केही नभएको भन्दै युक्रेनसँगको अल्पकालीन युद्धविरामलाई खारेज गर्नुभएको छ । 

अमेरिकी र रुसी अधिकारीहरु मस्कोमा भेटेर ३० दिनको युद्धविराम प्रस्तावबारे छलफल गर्न लागेको बेला पुटिनको सहयोगीको यस्तो भनाई आएको हो ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको शान्तिका लागि आफ्ना साझेदारहरूसँग यथाशीघ्र काम गर्न आफू दृढ रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनले भने सो प्रस्तावको बारेमा टिप्पणी गर्न बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्धमले जनाएका छन् । 

यसैबीच, रुसी सेनाले युक्रेनी सेनाले कब्जा गरेको कुस्र्क क्षेत्रको एउटा प्रमुख शहर सुजा पुनः आफ्नो कब्जामा लिएको बताएको छ । राष्ट्रपति पुटिनले पनि हिजो कुस्र्क क्षेत्रको भ्रमण गर्नुभएको थियो । युक्रेनका सेनाका प्रमुखले पनि आफ्ना केही सैनिकहरू कुस्र्कबाट फिर्ता आएको बताएका छन् ।    


प्रतिक्रिया