महाकुम्भ मेलामा भागदौड हुँदा ४० जनाको मृत्यु
माघ १६, २०८१ | काठमाडौं
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । महाकुम्भ मेलाको घाटमा गएराति करीब साढे एक बजेतिर भागदौड मच्चिएको थियो । सो घटनाबारे भारत सरकारले अझै आधिकारिक तथ्यांक उपलब्ध गराएको छैन । यद्यपि, थुप्रै श्रद्धालु घाइते भएको हुनसक्ने आँकलन गरिएको छ ।
मौनी अमावस्याका अवसरमा मंगलबार साँझदेखि शाही स्नान चलिरहेको बेला सोे घटना भएको थियो । जनवरी १३ बाट सुरु भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ । ती मध्ये दुई वटा पहिले नै भइसकेका छन् आज हुने भनिएको तेस्रो शाही स्नान घटनापछि तत्कालका लागि स्थगित गरिएको छ ।
चौथो शाही स्नान फेब्रुअरी ३ मा, पाँचौं शाही स्नान फेब्रुअरी १२ मा र छैटौं तथा अन्तिम शाही स्नान फेब्रुअरी २६ मा हुनेछ ।