जम्मू–कश्मीर घटनाः कुनै संलग्नता नभएको पाकिस्तानको स्पष्टोक्ति

वैशाख १०, २०८२

जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा आफ्नो देशको कुनै संलग्नता नभएको पाकिस्तानले जनाएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम हत्याकाण्डमा आफ्नो देशको कुनै भूमिका नभएको बताउनुभएको हो । स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आसिफले सो घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्नुभएको हो । 

पहलगाम घटना भारत सरकारविरुद्धको घरेलु विद्रोह भएको उहाँको भनाइ छ । रक्षामन्त्री आसिफले आक्रमणका लागि पाकिस्तानलाई दोष दिन सजिलो भएको र भारतले पाकिस्तानको मामिलामा हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । उहाँले घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंवादी हर्कतको पाकिस्तानले सधैं घृणा गर्ने बताउनुभएको छ । 

भारत र पाकिस्तान दुवैले दाबी गरेको कश्मीरमा भारतीय शासनविरुद्ध दशकौंदेखि विद्रोह भइरहेको छ । भारतले सो विद्रोहलाई पाकिस्तानले आर्थिक सहयोग र समर्थन गर्ने गरेको आरोप लगाउँदै आएको छ । यद्यपी, सो आरोप पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ । 


प्रतिक्रिया