नेपालले विश्वकपको एशिया छनोटमा बहराइनसँग प्रतिस्पर्धा गर्दै

जेष्ठ २, २०८२ | काठमाडौं
नेपालले आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट स्टेडियममा नेपाल र बहराइनबीचको प्रतिस्पर्धा नेपाली समय अनुसार साढे १२ बजे सुरु हुनेछ ।
एशिया छनोटका खेलमा लगातार वर्षा बाधक बनेको छ । वर्षाले प्रभावित पछिल्लो खेलमा हङकङसँग ३ विकेटले पराजित भएपछि नेपाल बाहिरिने लगभग निश्चित भएको छ । नेपाललाई सुपर ‘थ्री’मा पुग्न जित्नै पर्ने दबाब छ ।
समूह ‘सी’मा रहेको नेपाल तीन खेलबाट मात्र ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेको हङकङको चार अंक छ । बहराइनसँगको आजको खेल वर्षाले प्रभावित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
आजको खेलमा जित हात पारेको खण्डमा भने सुपर ‘थ्री’को यात्राका लागि नेपालले हङकङ र बहराइनबीच भोलि हुने खेलको नतिजा कुर्नु पर्नेछ । अघिल्लो खेलमा हङकङसँग पराजित भएपछि नेपालले यसअघि नै सुपर ‘थ्री’ पुग्ने सुनौलो अवसर गुमाएको हो ।
यसअघि वर्षाले मैदान भिजेपछि नेपाल र हङकङबीचको खेल ५–५ ओभरमा झारिएको थियो । पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ विकेट गुमाई २९ रनमात्र बनाएको थियो । नेपालले दिएको ३० रनको लक्ष्य हङकङले चार ओभर ३ बलमा पूरा गरेको थियो ।
डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा नेपाल र हङकङबीचको पहिलो खेल पनि वर्षाले रद्द भएको थियो । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसपछि ३ टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली टी–२० विश्वकप छनोटमा छनोट हुनेछन् ।