भियतनाममा बाढी र पहिरोमा परेर ९० जनाको मृत्यु
मंसिर ७, २०८२ | काठमाडौं
दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा भारी बर्षापछिको बाढी र पहिरोका कारण कम्तिमा ९० जनाको मृत्यु भएको छ ।
त्यस्तै, १२ जना हराइरहेका छन् । देशभरमा गरी १ लाख ८६ हजार घरमा क्षति पुगेको भियतनाम सरकारले जनाएको छ । हिमाली राज्य डाक लाकमा सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ ६० जना भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
नोभेम्वर १६ यताको बाढी पहिरोले व्यापक मानवीय क्षति गर्नुका साथै मुख्य सडक मार्ग र रेल मार्ग बन्द भएको भियतनामका अधिकारीहरुले बताएका छन् । २ लाख ५० हजार भन्दा बढी नागरिक विद्युत सेवाबाट वञ्चित भएका छन् । बाढी पहिरोबाट बढी प्रभावित क्षेत्रमा सेना र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।








