रुसको आक्रमणबाट युक्रेनमा २५ जनाको मृत्यु
मंसिर ४, २०८२
रुसले युक्रेनको पश्चिमी शहर टर्नोपिलमा ड्रोन र मिसाइलले आक्रमण गर्दा तीन बच्चाहरू सहित कम्तिमा २५ जनाको मृत्यु भएको छ । कम्तिमा ७३ जना घाइते भएका छन् । जसमा १५ जना बालबालिका समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले रातको समयमा पोल्याण्डको सीमा नजिक पर्ने टर्नोपिलको दुई वटा नौ तले अपार्टमेन्टमा हमला गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक सहयोगको खोजीमा टर्कीमा छलफल गरिरहँदा सो हमला भएको हो । युक्रेनी आन्तरिक मन्त्री इहोर क्लिमेन्कोकाअनुसार २४ जना मानिस अझै बेपत्ता छन् । उद्धारकर्ताहरूले भग्नावशेषको खोजी कार्य जारी राखेका छन् । युक्रेनको वायु सेनाकाअनुसार रुसले ४ सय ७६ पटक आक्रमण गरेको थियो । जसमा ड्रोन र ४८ मिसाइल प्रहरा गरिएको थियो ।









