इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ३५ जनाको मृत्यु
पुस २२, २०८२ | काठमाडौं
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसामा मृत्यु भएकाको संख्या ३५ पुगेको छ । मृत्यु हुनेमध्ये २९ जना प्रदर्शनकारी, चार बालबालिका तथा दुई जना सुरक्षाकर्मी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो एक सातायता जारी प्रदर्शनका क्रममा १ हजार २ सय व्यक्तिलाई पक्राउ गरिएको छ । इरानका ३१ मध्ये २७ प्रान्तका २ सय ५० भन्दा बढी स्थानमा सरकार विरोधी प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्रदर्शनका क्रममा २ सय ५० जना प्रहरी र रिभोल्युशनरी गाड्र्ससँग आबद्ध ४५ जना घाइते भएका छन् ।
यद्यपि इरान सरकारले अहिलेसम्म औपचारिक रुपमा आन्दोलनबारे जानकारी दिएको छैन । यसैबीच इरानका राष्ट्रपतिले आन्तरिक मन्त्रालयलाई इलाम प्रान्तमा भएको पछिल्ला घटनाबारे छानविन गर्न विशेष टोली गठन गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।
राजधानी तेहरानबाट ५ सय १५ किलोमिटर दक्षिण–पश्चिममा रहेको सो प्रान्तमा सुरक्षाकर्मीले नागरिकमाथि गोली चलाएको दाबीसहितका भिडियो फुटेज सार्वजनिक भएका छन् ।









