अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीबीच टेलिफोन वार्ता
माघ २२, २०८२ | काठमाडौं
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा ताइवानका विषय छलफल भएको हो । राष्ट्रपति सीले ताइवानमा हतियार आपूर्ति गर्दा संयमता अपनाउन ट्रम्पलाइ चेतावनी दिनुभएको चीनियाँ संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
सी जिनपिङले वासिङ्टनसँगको सम्बन्धलाई अत्यन्तै महत्व दिने भन्दै दुवै पक्षले आपसी मतभेद समाधान गर्ने उपाय खोज्नुपर्ने बताउनुभएको समाचारमा उल्लेख छ । ट्रम्पले भने सो फोनवार्तालाई सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।
ट्रम्प आगामी अप्रिलमा चीन भ्रमण गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकाले औपचारिक रुपमा बेइजिङसँग कूटनीतिक सम्बन्ध राखेपनि ताइवानको प्रमुख हतियार आपूर्तिकर्ता र महत्त्वपूर्ण सहयोगी रहँदै आएको छ। गत डिसेम्बरमा ट्रम्प प्रशासनले करिब ११ अर्ब अमेरिकी डलर बराबरको ताइवानलाई हतियार बिक्री घोषणा गरेको थियो । सो कार्यप्रति चीनले आपत्ति जनाएको थियो ।










