पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा ३१ जनाको मृत्यु
माघ २३, २०८२ | काठमाडौं
पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने झण्डै १७० जना घाइते भएका छन् । आज नमाज पढ्ने क्रम चलिरहँदा सो विस्फोटको घटना भएको हो ।
घटनापछि इस्लामाबादका उप–आयुक्त इरफान मेमनले जारी गरेको विज्ञप्तिमा विस्फोटमा ३१ जनाको मृत्यु भएको तथा १ सय ६९ जना घाइतेको अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
प्रहरीका अनुसार आक्रमणकारीलाई सुरक्षा जाँच गर्ने क्रममा सो आक्रमणको घटना भएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच सो घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि गत नोभेम्बर ११ मा इस्लामाबादमै भएको अर्को आत्मघाती आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।








