इरानद्धारा नोबेल शान्ति पुरस्कार विजेतालाई सात वर्षभन्दा बढीको जेल सजाय

रेडियो कान्तिपुर संवाददाता

माघ २६, २०८२ | काठमाडौं

इरानले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई सात वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । मोहम्दीले भोक हड्ताल शुरु गरेपछि नयाँ सजाय सुनाइएको हो । 

देशभर भएका विरोध प्रदर्शन र सुरक्षा बलको कारबाहीका क्रममा हजारौँ मानिसको मृत्यु भएपछि तेहरानले सबै किसिमका असहमतिमाथि कडा दमन गर्दै आएकोमा पछिल्लो पटक मोहम्मदीमाथि सो सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

मोहम्मदीका समर्थकहरुले कानुनी अधिकारहरुको भनाइ उद्धृत गर्दै सो सजायको पुष्टि गरेको समाचारमा उल्लखेख छ । मोहम्दीका कानुनी अधिकारी मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत त्यहाँको एक अदालतले सो सजाय सुनाएको प्रतिक्रिया दिएका छन् । 

मोहम्मदीलाई ‘गठजोड र षड्यन्त्र’ को आरोपमा छ वर्ष कैद तथा ‘प्रचार गतिविधि’ को आरोपमा थप डेढ वर्ष कैद तथा दुई वर्षको विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ समाचार संस्था एपीले जनाएको छ । 

यस्तै राजधानी तेहरानबाट झण्डै७ सय ४० किलोमिटर दक्षिण–पूर्वमा रहेको खोस्फ सहरमा दुई वर्षका लागि आन्तरिक निर्वासनमा पठाउने समेत अदालतले आदेश गरेको समाचारमा जनाइएको छ । 


प्रतिक्रिया