अमेरिकाद्वारा रुसी तेल तथा पेट्रोलियम पदार्थ खरिदमा अस्थायी अनुमति

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २९, २०८२ | काठमाडौं

अमेरिकाले समुद्रमा अड्किएको रुसी तेल तथा पेट्रोलियम पदार्थ खरिद गर्न विभिन्न देशहरुलाइ अस्थायी रुपमा ३० दिनको अनुमति दिएको छ । सोे निर्णय मध्यपूर्वमा भएको युद्धका कारण विश्व ऊर्जा बजारमा आएको अस्थिरता कम गर्न गरिएको बताइएको छ । अमेरिकी अधिकारी स्कट बेसेन्टका अनुसार सो अनुमति सीमित समयका लागि मात्र दिइएको बताउनुभएको बीबीसीले जनाएको छ ।

 सो अनुमति अनुसार मार्च १२ सम्म जहाजमा लोड भइसकेका रुसी कच्चा तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न पाइने समाचारमा उल्लेख छ । सो व्यवस्था आगामी अप्रिल ११ सम्म लागू रहने बताइएको छ ।

 यसअघि अमेरिकाले मार्च ५ मा भारतलाई मात्र लक्षित गर्दै समुद्रमा अड्किएको रुसी तेल खरिद गर्ने ३० दिने छुट दिएको थियो। मध्यपूर्वमा इरानसँगको युद्धका कारण विश्वभर तेल आपूर्तिमा अवरोध आएको छ ।

 हाल करिब १ सय २४ मिलियन ब्यारेल रुसी तेल विश्वका करिब ३० स्थानमा समुद्रमै अड्किएको बताइएको छ । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिका र इजरायलले आक्रमण नरोकिए खाडी क्षेत्रबाट हुने तेल ढुवानी रोक्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया