गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम हुने

श्रावण ४, २०७८ | काठमाडौं

सदाबहार गायक अरुण थापाको सम्झनामा सांगीतिक समाज भक्तपुरले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर समाजले स्व.अरुण थापा स्मृति दिवस–सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई निरन्तरता दिने भएको हो । 

गीत संगीत मार्फत सदाबहार गायक थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए । सचिव बज्राचार्यका अनुसार सो कार्यक्रम भक्तपुर दूधपाटीको भार्वाचो गेटस्थित होटल ‘दी तिशा इन’ मा हुनेछ । 

भक्तपुरमा विगत ३ वर्षदेखि निरन्तर रुपमा अरुण थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको बज्राचार्यले बताए । कोभिड-१९ का कारण विगतमा जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको समाजले जनाएको छ ।

 अरुण थापा नेपाली सांगीतिक क्षेत्रका त्यस्ता नक्षत्र हुन् जसले थोरै गीत गाएर पनि आफूलाई अब्बल गायकको रुपमा स्थापित गरे । थापाका ऋतुहरुमा तिमी, जति माया लाए पनि, चोट के हो व्यथा के हो लगायत गीतहरु अहिले पनि श्रोताको रोजाईमा पर्ने गीत हुन् ।

विसं. १९६५ मा मोतीराम भट्टको गजल 'यता हेर्‍यो, यतै मेरा नजरमा राम प्यारा छन्...' आफ्नै स्वर र संगीतमा रेकर्ड गराएपछि 'सेतुराम श्रेष्ठ'बाट सुरु भएको नेपाली सुगम संगीतको सवा सय वर्षभन्दा लामो इतिहासका एक परिचायक हुन्, अरुण थापा । 

२०३० सालदेखि २०५५ सालसम्म निरन्तर अढाइ दशक नेपाली संगीतको अनुसेवी बनेका अरुण थापा सामवेदका ऋचाहरूमा लीन भएको २२ औं वर्ष पुगेको छ । थापा विसं. २००९ सालमा भारतको कलकत्तामा जन्मिएका थिए । 

तत्कालीन भारतीय महावाणिज्य दूतको सहयोगमा उनका बुवा गुञ्जमान थापा नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा जागिर खान काठमाडौं आउँदा अरुण मात्र तीन महिनाका थिए । अरुण थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । 

अरुण थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् । भारतको कलकत्तामा जन्मिएका गायक थापाको २०५६ साउन ५ गते काठमाडौंमा निधन भएको थियो । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । उनको व्यक्तिगत जीवन छोटो भएपनि सांगीतिक जीवन भने अमर अजर रहेको छ । 


प्रतिक्रिया