एलिसा ढुंगानाको साहित्यिक कृति “सौन्दर्यको भग्नावशेष” बजारमा

श्रावण २७, २०८२ | काठमाडौं ।
कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह “सौन्दर्यको भग्नावशेष” बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले काठमाडौंमा आयोजित कार्यक्रममा सो कृतिको विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकारीले ढुंगानाको कवितामा जीवन र जगतका सत्यहरूलाई सहज रूपमा उतारिएको बताउनुभयो ।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ढुंगानाको कवितामा मानिसका सपना र रहरहरू मात्र नभई अवसाद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताउनुभयो । कवि तथा प्राज्ञ डा. देवी नेपालले ढुंगानाको कविता सरल भएपनि निकै गम्भीर रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कवि तथा पत्रकार मणि लोहनीले कविताप्रति ढुंगानाको लगावले आफू संवेदित बनेको चर्चा गर्नुभयो । साहित्यिक कृति विमोचनमा लेखिका एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बाल्यकालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताउनुभयो ।
विमोचन कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी सुष्मा महरा लगायतले “सौन्दर्यको भग्नावशेष” का कविताहरू वाचन गरेका थिए ।
तीन खण्डमा ३८ वटा कविता समेटिएको कविता संग्रहलाई एइएम ग्रुपले प्रकाशनमा ल्याएको हो ।