बाह्रखरी मिडियाद्वारा ‘सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ घोषणा

आश्विन ३१, २०८२ | काठमाडौं
बाह्रखरी मिडियाले सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता घोषणा गर्दै कथा आह्वान गरिएको हो। विगत ६ वर्षदेखि कथा लेखनको प्रवर्द्धन गर्दै आएको यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिसहित हुने गरेको छ।
प्रतियोगितामा नेपाली भाषाका सर्जकहरूले विश्वभरबाट कात्तिक ३० गतेसम्म कथा पठाउन सक्नेछन्। प्राप्त कथालाई बाह्रखरीका आन्तरिक समूहले छनोट गरी ५० कथा निर्णायक समिति समक्ष पठाउनेछ। निर्णायक समितिले उत्कृष्ट २५ कथाको चयन गर्नेछ र ती कथाहरू पुस्तकमा प्रकाशित गरिनेछ।
सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ भने बाँकी २२ कथाकारलाई पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ। निर्णायक समितिमा नाट्यकर्मी अशेष मल्ल, वरिष्ठ कथाकार मञ्जु काँचुली र अभय श्रेष्ठ छन्।
विज्ञप्ति पढ्नोस्–
१२खरी कथा प्रतियोगिता, २०८२
कथा आह्वान
प्रेस विज्ञप्ति
कथा लेखनको सम्वर्धन र प्रवर्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि निरन्तर चलाएको अभियानलाई निरन्तरता दिँदै ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ ।
आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको छ ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।
‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार श्री अशेष मल्ल रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ कथाकार श्री मञ्जु काँचुली तथा कथाकार श्री अभय श्रेष्ठ हुनुहुन्छ ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक श्री गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो ।
संग्र्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ९३७ कथा प्राप्त भएको थियो ।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा, २०८२ को लोकार्पण पनि गरिनेछ ।
डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो ।
प्रतियोगितको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।
चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौंका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो ।
छैटौँ संस्करणमा बाँकेका विष्णु पादुकाको कथा ‘माग्युद खोना’ प्रथम, काठमाडौंका प्रमेय भण्डारीको ‘कृत्रिम सपना’ द्वितीय र मोरङका विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ तृतीय भएको थियो ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रह पुस्तकको प्रकाशन फाइनप्रिन्टले गर्नेछ । यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिशहोम डिश मिडिया नेटवर्क रहेको छ ।
उत्कृष्ट कथा, २०८२ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइनप्रिन्ट रहेको छ । प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा एनआईएमबी बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लि., गोल्यान समूह, वेदालय कन्सट्रक्सन, यती एयरलाइन्स र हिमालयन एयरलाइन्स रहेको छ ।
सर्त तथा नियम
रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन पाइने छैन ।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
यस प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।
कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ ।
प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
कथा पठाउनका लागि
इमेल :[email protected]
सम्पर्क : ०१–४१०६५१, ०१–४१०६५६, ९८०१८४९६१९