कान्तिपुरकर्मी महेश लिम्बु सम्मानित

भाद्र १५, २०७८ | काठमाडौं

रेडियो कान्तिपुरका वरिष्ठ कार्यक्रम निर्माता एवं प्रस्तोता महेश लिम्बु सम्मानित भएका छन् । रेडियो पत्रकारिता र रङ्ग पत्रकारितामा लामो समयको सक्रियता र प्रतिभाको कदर गर्दै लिम्बुलाई रिबन इन्टरटेनमेन्टले हालै एक कार्यक्रमकाबीच चलचित्रकर्मी सम्मान प्रदान गरेको हो । 

लिम्बु रेडियो कान्तिपुरका चर्चित कार्यक्रम प्रस्तोता हुनुका साथै विभिन्न स्टेज कार्यक्रम सञ्चालन र चलचित्र पत्रकारितामा ख्याति प्राप्त नाम हुन् । उनले केही म्यूजिक भिडियोमा काम गर्नुका साथै निर्देशन समेत गरेका छन् । उनले केही समय सगरमाथा टेलिभिजनमा प्ले स्टोर नामक फोन ईन कार्यक्रम समेत सञ्चालन गरे ।

रिबन इन्टरटेनमेन्टले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा लिम्बुसँगै विभिन्न कलाकर्मी तथा समाजसेवीलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशक सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक विधान कार्की छन् । 

यस्तै, रंग पत्रकार जीवन पराजुली, गीतकार दयाराम पाण्डे, संगीतकार अर्जुन पोखरेल, दीपक शर्मा, समाजसेवी अनुप के बराल, रंग संयोजक रेनिश फागो, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, कलाकार प्रेम पाण्डे, प्रदीप बास्तोला, गायिका सरिता भारती लगायत छन् ।

आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण उहाँहरुलाई सम्मानित गरिएको रिबन इन्टरटेन्मेन्टका अध्यक्ष निशु झाले बताउनुभयो ।


प्रतिक्रिया