प्राथमिक तहबाटै भूकम्प सुरक्षा सम्बन्धि शिक्षा लागू गर्नुपर्छ : लोकविजय अधिकारी

माघ २, २०७६ | .काठमाडौं

जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ । भुकम्पबारे पर्याप्त जानकारी नहुँदा नेपालमा बढी क्षति हुने गरेको जानकारहरु बताउँछन् । कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको देखिन्छ ।

नेपालमा अहिलेसम्म गएका भुकम्प मध्ये संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर १९९० साल माघ २ गते गएको ८ दशमलव ४ म्याग्निच्युटको भुकम्पलाई विनाशकारी मानिन्छ । १२५५ साल पछिका भुकम्पको अभिलेख नेपालमा राख्न सुरु भएको जानकारहरु बताउँछन् । १३१६, १४६५, १५०५, १७३७, १८३३, १८९०, १९९०, २०४५, २०६८ र २०७२ सालका भुकम्पलाई विनाशकारी मानिन्छ । बारम्बारको भुकम्पले नेपाल भुकम्पीय जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८ दशमलब ४ रेक्टरस्केलको १९९० को भुकम्प, नेपालमा मापन भएको अहिलेसम्मकै सवैभन्दा शक्तिशाली भुकम्प पनि हो । सो भुकम्पले ८ हजार एक सय १९ जनाको ज्यान लियो भने २ लाख ७ हजार बढी भौतिक संरचनामा क्षति पुर्‍याएको थियो ।

पछिल्लो पटक २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो । जसका कारण ९ हजार बढीले ज्यान गुमाएका थिए । भूकम्पपछिको पुर्नर्निमाण अहिले पनि जारी छ । भूकम्पबाट स्कुल तथा अस्पताल बढी असुरक्षित छन् । प्राथमिक शिक्षा देखि नै भुकम्पबारे अध्ययन आवश्यक रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउनुहुन्छ ।

यसैबीच १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा आज २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदैछ । भवन निर्माण आचारसंहिता लागू गर्न सके मात्र पनि भुकम्पबाट हुने क्षतिबाट बच्न सकिने विज्ञहरुको भनाई छ । यसैबीच दिवसका अवसरमा भक्तपूरमा आज हुने विशेष सचेतना कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिती रहनेछ ।

यस्तै राष्ट्रिय सभागृहमा आजैबाट राष्ट्रिय भूकम्प सुरक्षा प्रदर्शनी समेत सुरु हुँदैछ । शनिबारसम्म चल्ने प्रदर्शनीमा प्रत्येक दिन २ बजेपछि नेपाल आमी, नेपाल प्रहरी लगायत सरोकारवाला संघसंस्थाले भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपायहरु समेटिएका विशेष प्रस्तुतीहरु समेत देखाउने आयोजकले जनाएका छ ।


प्रतिक्रिया