नेपाल प्रहरीको नयाँ नेतृत्व चयनका लागि सरकार छलफलमा
माघ २६, २०७६ | काठमाडौं
नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण पर्सी मंगलबार रातिबाट अवकाश पाउने भएपछि नयाँ नेतृत्वका लागि सरकारले तयारी तीव्र पारेको छ । सोही दिन खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातले पनि अवकाश पाउने छन् ।
खनालको अवकाशसँगै मंगलबार नेपाल प्रहरीले २७ औं नयाँ नेतृत्व पाउनेछ । प्रहरीको नयाँ नेतृत्व भने डीआईजीमध्येबाटै हुनेछ । प्रतिस्पर्धामा डीआईजी ठाकुर ज्ञवाली र तारणी लम्साल छन् । उनीहरू दुवै २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
सम्भवत: भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वको निर्णय हुनेछ । उच्च स्रोतका अनुसार ज्ञवाली नै भावी आईजीपी बन्ने निश्चित प्राय: छ । कार्यसम्पादन मूल्यांकनमा पनि ज्ञवाली पहिलो नम्बरमा हुनुहुन्छ । स्रोत भन्छ यसका लागि प्रधानमन्त्री, गृहमन्त्री सकारात्मक देख्निछन् । ३० वर्षे सेवाहदका कारण ज्ञवालीको कार्यकाल भने जम्मा ५ महिनाको मात्रै हुनेछ । ज्ञवालीको हाल प्रदेश १ प्रहरीको जिम्मेवारी छ ।
प्रहरी नियमावलीमा आईजीपीको नियुक्ती गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ । प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक एआईजी मध्येबाट गर्नुपर्ने उल्लेख छ । तर, एआईजी नभएको अवस्थामा सरकारले डीआईजीमध्ये बाटै आईजीपी नियुक्ति गर्न सक्नेछ । तर, सरकारले प्राय: प्रहरी प्रमुखमा आफू अनुकुल व्यक्तिलाई नै छनौट गर्ने प्रचलन छ ।
ज्ञवाली आईजीपी भएको अवस्थामा तीन एआईजीका लागि लम्सालसहित डीआईजी सूर्य उपाध्याय, शैलेश थापा, हरिबहादुर पाल, प्रद्युम्न कार्की, नीरजबहादुर शाही र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । एआईजी बढुवामा भने समय लाग्ने सम्भावना छ । पछिल्लो समय डीआईजीबाटै एआईजी बनाउनुपर्ने अवस्था भएपनि २८ औं महानिरीक्षक भने एआईजीबाटै हुनेछ । त्यसैले एआईजीमा पर्न सबैले दौडधूप तीव्र बनाएका छन् ।
वर्तमान आईजीपी खनालका ब्याजी १७ डीआईजीहरू पनि माघ २८ मै अवकाश पाउनेछन् । खनालसहितको यो समूह २०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको हो । डीआईजीसमेत खाली हुने भएकाले एसएसपीहरूबीच पनि बढुवाका लागि प्रतिस्पर्धा हुनेछ ।