१६ औँ योजना कार्यन्वयनकालागि योजना आयोगको कार्ययोजना तयार
माघ १०, २०८१ | काठमाडौं
राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यन्वयनका लागि दिगो विकास लक्ष्यको स्थानीयकरण र अतिकम विकसित देशबाट स्तारोन्नति हुने प्रक्रियालाई प्राथमिकतामा राखेर कार्ययोजना तयार पारेको छ ।
समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्र पहिचान गर्दै १६ औँ विकास योजनाको कार्यान्वयन योजना तयार पारिएको आयोगले जनाएको छ । सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कार्ययोजनामा योजनाको डिजाइन र कार्यान्वयनमा स्रोत कुशल उपयोग र प्राविधिक कुशलता सुनिश्चित गर्न ध्यान केन्द्रीत गरिएको बताउनुभयो ।
आयोगका अनुसार आयोजना बैंकमा अधिकांश आयोजना बिना तयारी समावेश गरिएकाले त्यसलाई व्यवस्थित र अध्यावधिक गर्ने काम भइरहेको छ । यसैबीच, आयोगले समपुरक अनुदान र विशेष अनुदानमार्फत् स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरिएको जनाएको छ ।
७ सय ५३ स्थानीय तहलाई ७ वर्गमा विभाजन गरी समपूरक अनुदानका लागि संघ सरकारले उपलव्ध गराउने अनुदान र स्थानीय सरकारले विनियोजन गर्ने न्युनतम रकमको प्रतिशत छुट्टाइएको छ । त्यस्तै, ७ वटा प्रदेशलाई आर्थिक, सामाजिक, पूर्वाधार अवस्था र राजश्व क्षमता अनुसार वर्गीकरण गरी संघीय सरकारले उपलव्ध गराउने अनुदान प्रतिशत निर्धारित गरिएको छ । स्रोत परिचालनमा असमानता देखिएकाले नयाँ व्यवस्था गरिएको आयोगले जनाएको छ ।