उपभोग्य वस्तुको आपुर्तिमा कमी हुन दिदैनौँ : मोतिलाल दुगड

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | काठमाडौं

सरकारले लकडाउनको समयमा पनि दैनिक उपभोग्य वस्तुको आपुर्तिमा कुनै समस्या हुन नदिने जनाएको छ । उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकाले नआत्तिन सरकारले आम सर्वसाधारणलाई आग्रह गरेको हो । 

उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगडले आपुर्तिको चेन बिग्रन नदिन भारत र चीनसंग निरन्तर छलफल भईरहेको उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरसंग कुराकानी गर्दै राज्यमन्त्री दुगडले सर्वसाधारणको सहजताका लागि नै सरकारले पछिल्लो निर्णय गरेको उल्लेख गर्नुभयो । सरकारले हिजो दैनिक उपभोग्य र खाद्यवस्तुका पसललाई दैनिक २ पटक खोल्न दिन निर्णय गरेको थियो । 

ईन्धन आपुर्तिका बिषयमा पनि कुनै समस्या नभएको तर एलपी ग्यासको भण्डारण गर्ने प्रवृती बढ्दो रहेकाले केही असहजता सृजना भएको राज्यमन्त्री दुगडको भनाई थियो ।

आपुर्तिको अवस्थालाई चुस्त र व्यवस्थित बनाउन सरकार लागि परेको भन्दै उहाँले जनस्तरबाट पनि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिकुल परिस्थितिमा सबै पक्षबीच सहयोग आवश्यक रहेकाले त्यसमा सबैको ध्यान दिन आवश्यक रहेको दुगडले उल्लेख गर्नुभयो ।    


प्रतिक्रिया