कोरोनासँग जुझ्न सार्कले मोडालिटी तयार पार्दै

वैशाख १०, २०७७ | काठमाडौं

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रले कोरोना भाइरस महामारी सँग जुझ्न संयुक्त मोडालिटी तयार पार्दै छन् । गत चैत्र २ गते सार्क राष्ट्रका कार्यकारी प्रमुखबीच भिडियो कन्फरेन्समा भएको सहमति अनुसार साझा धारणा निर्माणका लागि आवद्ध मुलुकबीच छलफल बाक्लिएको हो । 

सार्क आवद्ध राष्ट्रका स्वास्थ्य मन्त्रीबीच सहकार्यको मोडालिटिका विषयमा छलफल गर्न भोली बैठक बस्ने तयारी भएको काठमाडौंस्थिति सार्क सचिवालयका प्रवक्ता दधिराम भण्डारीले जानकारी दिनुभयो । सबै राष्ट्रले कोभिड १९ नियन्त्रणका लागि स्थापना हुने कोषमा रकम योगदान गर्ने प्रतिवद्धता जनाइसकेका छन् । सो कोषको रकम हरेक मुलुकको आवश्यकता अनुसार खर्च गर्ने विषयमा भोलीको भिडियो कन्फरेन्समा छलफल हुने प्रवक्ता भण्डारीको भनाइ छ । 

सबै राष्ट्रका कार्यकारी प्रमुख र पाकिस्तानका स्वास्थ्य मन्त्री सहभागी भएको भिडियो कम्फरेन्स पछि सबै राष्ट्रका स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीबीच भिडियो बैठक बसेको थियो । नेपालले सार्कको कोषमा १० करोड योगदान गर्ने घोषणा गरेको छ । 

सार्क राष्ट्र मध्य भारतमा सबैभन्दा बढि २० हजार ८० संक्रमित भएका छन् । पाकिस्तानमा ९ हजार ५ सय ६५, बंगलादेशमा ३ हजार ३ सय ८२, अफगानिस्तानमा १ हजार ९२, श्रीलंकामा ३ सय १०, माल्दिभ्समा ८६, नेपालमा ४२, भुटानमा ६ जना संक्रमित छन् । 


प्रतिक्रिया