प्रि-मनसुन अत्यधिक सक्रिय भएपछि मनसुन कमजोर हुने

वैशाख २२, २०७७ | काठमाडौं

यस वर्ष प्रि-मनसुन बढी सक्रिय भएका कारण मनसुनका समय वर्षा कम हुन सक्ने जल तथा मौसम महाशाखाले अनुमान गरेको छ । महाशाखाका महानिर्देशक सर्जु कुमार बैद्यका अनुसार असार, साउन र भदौमा प्रि-मनसुनका कारण सामान्य भन्दा कम वर्षा हुने सम्भावना रहन्छ । 

चैत्रको मध्यबाट सुरु भएको प्रि मनसुनमा वर्षा अधिक हुँदा यसको असर मनसुनमा पर्ने देखिएको महानिर्देशक बैद्यले बताउनुभयो । दक्षिण एसियाली मुलुकको मौसम पूर्वानुमान फोरमले मनसुनमा वर्षा सामान्य हुने बताएपनि स्थानीय वायुको प्रभावले त्यसमा फरक पर्न सक्ने हावापानी विश्लेषण शाखाका प्रमुख डा. इन्दिरा खरेलले बताउनुभयो । 

वर्षा मौसम सुख्खा नै हुने सम्भावना नरहेपनि पश्चिम नेपालमा वर्षा न्युन हुने पूर्वानुमान गरिएको छ । प्रदेश १ मा मुलुकका अन्य भाग भन्दा केही बढी तथा प्रदेश ३ र गण्डकीका उत्तरी भेगमा वर्षा सामान्य भन्दा बढि हुने सम्भावना छ । प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा सामान्य भन्दा कम हुने अनुमान गरिएको डा. खरेलको भनाई छ । 

पश्चिम प्रशान्त क्षेत्रमा तातो बढी हुने र पूर्व प्रसान्तमा वर्षा हुने प्रकारको मौसम क्रियाकलाप देखिए आगामी जुन महिनामा पनि मौसमी प्रणालीमा परिवर्तन आउन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, आगामि तीन दिन मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण प्रि मनसुनमा बर्षा अधिक भएको महाशाखाको निष्कर्ष छ ।


प्रतिक्रिया